स्मार्टफोन चार्ज गर्दै हुनुहुन्छ, त्यसो भए यी उपायहरुमा ध्यान दिनुस्



  

     पछिल्ला दिनहरुमा विभिन्न कम्पनीहरुले नयाँ नयाँ स्मार्टफोनहरु सार्वजनिक गरिरहेका छन भने ती स्मार्टफोनहरुका लागि नयाँ नयाँ चार्जिङ्ग प्रविधिहरु पनि आईरहेका छन् । कम्पनीहरुले ल्याउने फोनको अपडेटेड भर्सनका साथमा यसको ब्याट्री क्षमता पनि सुधार हुँदै गएको छ तर पनि स्मार्टफोनमा छिटो चार्ज सकिने समस्या अधिकांशले भोगिरहेका हुन्छन् ।
नयाँ प्रविधिको साथमा स्मार्टफोन कम्पनीहरुले चार्जिङ्ग र चार्जरलाई सुरक्षित बनाईरहेपनि ब्याट्री पड्किने, चार्ज गर्दा स्मार्टफोनमा आगो लाग्ने वा अन्य विभिन्न किसिमका घट्नाहरु आउने गरेका छन् ।
तर ती घट्नाहरुलाई तपाईँ आफैंले रोक्न सक्नुहुन्छ र यसको लागि केहि विषयमा भने ध्यान दिनुपर्ने हुन्छ ।
यी विषयहरुमा ध्यान दिए ब्याट्री र चार्जिङ्गलाई सुरक्षित बनाउन सकिन्छ ।
सक्कली चार्जरको प्रयोग गर्नुहोस्
सबैभन्दा पहिले र मुख्य विषय भनेको स्मार्टफोन चार्ज गर्दा सक्कली चार्जरको प्रयोग मात्र गर्नुपर्दछ । कम्पनीले प्रत्येक स्मार्टफोनको लागि छुट्टै चार्जर उपलब्ध गराएको हुन्छ, सोहि चार्जर मात्र प्रयोग गर्ने गर्नुपर्दछ । हामी हेलचेक्र्याई गर्दै जुनसुकै चार्जरले पनि फोन चार्ज गर्ने गर्दछौं त्यसले तपाईँको ब्याट्री र स्मार्टफोन दुबैलाई असर पार्दछ । त्यसैले बजारमा उपलब्ध सस्ता चार्जर प्रयोग गर्नबाट बच्नुहोस् ।
प्रोटेक्टिव केस तथा सुरक्षा कभर निकाल्नुस
फोन चार्ज गर्दा हामीले यो विषयलाई कहिले पनि ध्यान दिएका हुँदैनौं । तर फोन चार्ज गरिरहेको बेला प्रोटेक्टिभ केस निकालेर मात्र चार्ज गर्नुहोस् । किनकी कभरसहित फोन चार्ज गर्दा ब्याट्री अधिक तात्ने र फोनमा समस्या आउन सक्दछ । अझ कहिले काँही ब्याट्री तातेर पड्किने संभावना पनि रहन्छ ।

रातभर चार्जमा फोन नराख्नुस्
हामीमध्ये अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरु दिनभर फोन प्रयोग गर्ने र रातभर चार्जका लागि फोनलाई छोडिदिने गर्दछौं । राती फोन कम प्रयोग हुने र फुलचार्ज गर्न सहज हुने भन्दै अधिकांशले यस्तो गर्दछौं, तर यो गलत हो । रातभर चार्ज हुँदा ब्याट्री ओभर चार्ज भएर फुट्ने वा पड्किएर आगलागी हुनसक्दछ । त्यस्तै यसले फोनको कार्यक्षमतालाई पनि घटाउँछ ।

फ्लाईट मोडमा चार्ज गर्नुहोस्
फोन चार्ज गर्दा सकचर फ्लाइट मोडमा गर्नुहोस् । अहिलेका सबैजसो स्मार्टफोनमा फ्लाईट मोड दिईएको हुन्छ, र त्यो एक्टिभेट गर्दा अन्य सबै एप्स बन्द हुन्छन र फोन एक्टिभ हुँदैन तर अन भने भईरहेको हुन्छ । जसले गर्दा तपाईँको फोन अन्य सामान्य समयमा भन्दा छिटो चार्ज हुन्छ ।
ब्याट्री सेभर मोड प्रयोग गर्नुहोस्
अहिलेका सबैजसो स्मार्टफोनमा ब्याट्री सेभर मोडको अप्शन राखिएको हुन्छ । यो मोड एक्टिभेट भएमा यसले फोनको ब्याट्रीलाई अनावश्यकरुपमा खर्च हुनबाट बचाउँछ । त्यस्तै फोन चार्ज गरिरहेको बेलामा ब्याट्री सेभर मोडलाई अन गर्नुहोस र कम समयमा नै फोनलाई चार्ज गर्नुहोस् ।
फोनलाई फुल चार्ज नगर्नुहोस्
हामीमध्ये अधिकांशको मान्यता स्मार्टफोनको ब्याट्री शतप्रतिशत चार्ज भएको हुनुपर्दछ भन्ने छ तर त्यो गलत हो । अधिकांश मानिसहरुले फोनको अधिकतम लिमिट १०० प्रतिशतसम्म चार्ज गर्दछन् । तर यस्तो गर्दा ब्याट्री छिटो खर्च हुन्छ भन्ने विभिन्न अध्ययन रिपोर्टहरुबाट प्रमाणित भईसकेको छ । यस्तोमा स्मार्टफोन चार्जगर्दा ८० प्रतिशतदेखि ९० प्रतिशतसम्मको हाराहारीमा ब्याट्री चार्ज गर्दा अधिक समयसम्म ब्याट्री टिक्ने र स्मार्टफोनको आयु बढ्ने बताईएको छ ।
पावर बैंकबाट चार्ज गर्दा फोनमा कुरा नगर्नुस्
अधिकांश समयमा मानिसहरु यात्रामा रहँदा पावरबैंकको प्रयोग गर्ने गर्दछन् । यस्तो बेलामा यूजरहरुले स्मार्टफोन पनि प्रयोग गरिरहेका हुन्छन् । तर त्यसले स्मार्टफोनको कार्य क्षमता र पावर बैंकको कार्य क्षमतामा कमी ल्याउँछ । एकातिर चार्ज भईरहेको हुन्छ भने अर्को तर्फ फोन प्रयोगबाट ब्याट्री खपत भईरहेको हुन्छ । त्यसैले पावर बैंकबाट फोन चार्ज गर्दा एक पटक आवश्यकताअनुसार पुरै चार्ज हुन दिनुहोस् र त्यसपछि मात्र फोन प्रयोग गर्नुहोस् ।
यदि तपाईँले माथि उल्लेखित विषयमा ध्यान दिनुभयो भने तपाईँले अन्य समयको तुलनामा तपाईँको फोन छिटो चार्ज भएको महशुस गर्नुहुनेछ भने फोन र ब्याट्री दुबैको कार्य क्षमता र आयु लम्बिनेछ । जसले गर्दा तपाईँको फोन वा ब्याट्री तात्ने वा पड्किने संभावना न्यून हुन्छ ।


No comments:

Post a Comment