सेयर बजारमा चलखेल बढ्योः मुल्य तलमाथि गर्न अर्थमन्त्री र गर्भनरको बहाना !

नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ । 

ससाना र कम ज्ञान भएका लगानीकर्तालाई आफ्नो स्वार्थअनुरुप सेयर बेच्न र किन्न बाध्य पार्ने यो समुहले आईतबार अर्थमन्त्री र गर्भनरले बजार सुधारको भाषण गरेको हल्ला फैलाएर मुल्य बढाउने खेल खेलेको छ । 
दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुपात्दक क्षेत्र भनेको हौवा पिटाएर मुल्य घटाउन यही समुह छलफल भएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रधानमन्त्रीको भारत भ्रमणप्रति चार कूटनीतिज्ञको यस्तो छ विश्लेषण

काठमाडौं - प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समग्र पक्ष सकारात्मक भएको टिप्पणी गर्दै सहमति कार्यान्वयन पक्ष महत्वपूर्ण हुनुपर्नेमा कूटनीतिज्ञहरूले सुझाव दिएका छन् । आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ ।
उनीहरूले शनिबार भने, ‘१२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख भएका तीन फरक विषय कृषि, रक्सौल–काठमाडौं रेल विस्तार र नेपाल-भारतबीच जलमार्ग धेरै महत्वपूर्ण हुन् ।’
दुवै देशका प्रधानमन्त्रीले व्यक्त धारणाले पनि दुई देशबीचको सम्बन्धले नयाँ आयाम लिएको कूटनीतिज्ञको विश्लेषण छ । ‘प्रधानमन्त्री ओलीले भारतसँग युग सुहाउँदो नमुना सम्बन्ध बनाउन चाहेको, बताउनु, मोदीले समुद्रसम्म नेपालको पहुँच सुनिश्चित भएको घोषणा गर्नु सकारात्मक पक्ष हो’, उनीहरूले भने ।
नेपाल-भारत प्रबुद्ध समूहमा नेपाल संयोजक डा.भेषबहादुर थापाले ओली –मोदीको शिष्टाचार संवाद सकारात्मक देखिएको टिप्पणी गरेका छन् । उनले भने, ‘जुन तहको शिष्टाचार–आतिथ्य देखियो, त्यसले दुई देशबीचको आगामी सम्बन्धमा सकारात्मक हुने संकेत स्पष्ट देखिन्छ ।’
भारतका लागि नेपालका पूर्वराजदूत डा.लोकराज बरालले विश्वासको वातावरण बनाउने कुरामा प्रधानमन्त्री ओलीको यो भ्रमण ‘ब्रेक थ्रु’ भएको टिप्पणी गरे । आर्थिक समृद्धि हासिल गर्न दुवै पक्ष सहमति हुनु अर्को उपलब्धि भएको उनको तर्क छ । डा.बरालले भने, ‘रेलवे, समुद्रदेखि सगरमाथासम्मको सम्बन्ध जोड्नु र कृषिमा अनुसन्धानको कुरा आउनु महत्वपूर्ण उपलब्धि हुन् ।’
पूर्वराजदूत दीपकुमार उपाध्याय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन भएका प्रतिबद्धता र सहमति कार्यान्वयनमा नेपाल पक्षको जिम्मेवारी धेरै हुने बताउँछन् । ‘कूटनीति व्यक्तिको नभएर राष्ट्रको हुनुपर्छ भन्ने भावना भारतीय पक्षबाट हेर्दा पर्याप्त हुन्छ । विगतका धेरै सरकारको निरन्तरतामा आधारित धेरै कुरामा गरिएका प्रतिबद्धताको कार्यान्वयन सरकारले अब कार्यतालिकासहित छिटोभन्दा छिटो गर्नुपर्छ’, उपाध्यायले सुझाव दिँदै भने ।
पूर्वराजदूत दुर्गेशमान सिंहले सद्भाव भ्रमणमा विश्वासको वातावरण बनाउने कार्य भएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तीन तिहाइ बहुमतको सरकारका नेता ओलीले भारतबाट चाहेको सुरक्षाको विषय विश्वस्त गराए । नयाँमा भन्दा पुराना एजेन्डामा अघि बढ्ने कुरामा पुनः प्रतिबद्धता आउनु अत्यन्त राम्रो उपलब्धि हो ।’

मन्त्रिपरिषद् निर्णय गुपचुप !

तीव्र आलोचनापछि मन्त्रिपरिषद् विभिन्न तहका पदाधिकारी र सदस्यको सेवासुविधाबारे गुपचुपमै निर्णय गरेर विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गरेको थाहा भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधासम्बन्धी विधेयक, प्रदेशसभा सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी कानुन् र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक स्वीकृत भएर प्रदेशसभा सचिवालयमा दर्ता भईसके पनि सरकारले निर्णय सार्वजनिक गरको छैन । 

विधेयक पारित गर्न फास्ट ट्रयाकका नाममा सरकारले चोर बाटो प्रयोग गरेको हो ।, आजको कान्तिपुरले योखबरलेखेको छ । 

नेपालको समस्यामा यसपटक बोले प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुबान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।
३ दिने भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँगै जारी १२ बुँदै संयुक्त प्रेस विज्ञप्तिपछि सम्बोधन गर्दै डुवान समस्या समाधानबारे धारणा राखेका हुन् ।
पछिल्लो ६ बर्षमा ६ वटा प्रधानमन्त्री भारत भ्रमणमा गए पनि ओलीले यसपटक भने डुवान समस्या समाधान गर्नुपर्नेमा आफ्ना सकमक्षी मोदीसँग छलफल गरेका हुन् । आजको कारोबारदैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भने, 
-हरेक बर्ष नेपालले बर्षतको समयमा डुवान समस्या भोग्नु परेको छ । 
-र त्यसको समाधान खोज्न हामी दुवै पक्षले जोड दिएका छौँ । 

कांग्रेसमा खड्का गुटको नेतृत्व कसले गर्ने ?

काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उनले सम्हालिरहेके टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ ।
चैत १६ गते खड्काको निधनभएसँगै यो टिम छिन्न भिन्न हुन्छद कि, एकीकृत हुन्छ भन्ने चासोका बारेमा नेताहरु खुलेर कुरा गर्न चाहेनन् ।
पार्टीभित्र सशक्त नेताको टिम बनाएर नेतृत्व गरिरहेका नेता खड्काको निधनपछि उनी पक्षधर नेताहरु सभापति शेरबहादुर देउवा गुटमा कि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा जाने वा छुट्टै टिम बनाएर एकीकृत हुने भन्ने बारेमा गोप्य छलफल भइरहेको बताइएको छ ।
यो टिमका अधिकांश नेताहरु सधापति देउवाको टिमलाई सहयोग गरिरहेका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

कसरी ह्याक भयो रक्षा मन्त्रालयको वेभसाइट ?

नयाँदिल्ली । रक्षा मन्त्रालयको आधिकारिक वेभसाइट ह्याक अवरुद्ध भएको छ । 
सोमबार ह्याक भएको वेभसाइट सूचारु गराउने प्रयास भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
 
वेभसाइटमा चिनियाँ अक्षरहरु देखिएकाले चिनियाँ ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ । 
वेभसाइटको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना विज्ञान केन्द्रले भनेको छ, “हाम्रा वेभसाइटका सामग्रीहरू अवरुद्ध भएका छन् ।” 
मन्त्रालयका प्रवक्ताले पनि अवरुद्ध वेभसाइट सूचालु गराउने प्रयास भइरहेको जानकारी दिए पनि कसले र किन समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताए । 
अर्का सरकारी अधिकारीले भने चिनियाँ ह्याकरहरू वेभसाइटलाई प्रभावित गर्ने कार्यमा संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे । 

तोकेको ठाउँमा जान नचाहनेले जागिर छोड्नुहोस : मन्त्री पण्डित

पाल्पा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताएका छन् ।  
पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियो मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुन्छ भने । 
मन्त्री पण्डितले भने — “अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।” 
निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उनले आग्रह गरे । 
पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा पनि अनेक धम्की आउँदासमेत जनताको सु–सूचित हुने अधिकारको प्रवद्र्धनका लागि अटल भएर कार्य गरेकोमा प्रशंसा गरे । 
जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्वसभासद् नारायणी शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव किरण कौशलले सञ्चारको क्षेत्रमा सामुदायिक रेडियो मदनपोखरा एउटा उदाहरणीय जनपक्षीय प्रसारण संस्था बनेको बताए ।